विश्व नेताहरू UN महासभाका लागि न्यूयोर्कमा जुट्दै, जलवायु–युद्धदेखि AI सम्म मुख्य एजेन्डा 

न्यूयोर्क : संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह का लागि विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरू न्यूयोर्कमा जुट्न थालेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार करिब १३० राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुने अपेक्षा गरिएको छ।

महासभाको मुख्य General Debate सेप्टेम्बर २२ देखि २८ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुनेछ। यस वर्षको मूल विषय “Restoring trust, managing transformation: A United Nations that delivers for all” राखिएको छ।

महासभामा विश्वका नेताहरूले आ–आफ्ना देशका प्राथमिकता र अन्तर्राष्ट्रिय मुद्दाबारे धारणा राख्नेछन्। जारी युद्ध तथा सुरक्षा संकट, जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, दिगो विकास, विश्व स्वास्थ्य र कृत्रिम बुद्धिमत्ता (AI) को शासन जस्ता विषय उच्चस्तरीय छलफलमा रहनेछन्।

विशेषगरी सेप्टेम्बर २३ मा जलवायु कार्य तथा न्यायपूर्ण ऊर्जा संक्रमणसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना हुँदैछ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले बोलाएको कार्यक्रममा जलवायु न्याय, ऊर्जा सुरक्षा र तीव्र रूपमा बढिरहेको जलवायु संकटबाट मानिसहरूलाई जोगाउने उपायमा छलफल हुने UN ले जनाएको छ।

यस वर्षको महासभा चलिरहँदा न्यूयोर्कमा Climate Week समेत भइरहेको छ। चरम मौसम, बढ्दो ऊर्जा मूल्य र ऊर्जा खपत तीव्र रूपमा बढाइरहेको AI तथा डेटा सेन्टरको विस्तारले जलवायु बहसलाई थप महत्त्वपूर्ण बनाएको छ।

महासभाका क्रममा विभिन्न देशका नेताबीच औपचारिक कार्यक्रमबाहेक द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता पनि हुनेछन्। त्यसैले आगामी केही दिन न्यूयोर्क विश्व कूटनीतिको प्रमुख केन्द्र बन्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ