रुस–युक्रेन युद्ध चर्कियो, विशाल ड्रोन आक्रमणले बढायो तनाव
किभ : रुस–युक्रेन युद्धमा ड्रोन आक्रमण थप तीव्र बनेको छ। युक्रेनले सप्ताहन्तमा रुसतर्फ एक हजारभन्दा बढी ड्रोन प्रहार गरेपछि रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ।
युक्रेनले शनिबारदेखि आइतबारसम्म गरेको आक्रमणमा सयौँ ड्रोन मस्कोतर्फ पठाएको थियो। रुसी रक्षा मन्त्रालयले रुस, रुसले नियन्त्रण गरेका युक्रेनी क्षेत्र तथा ब्ल्याक सी क्षेत्रमा गरी १,११० युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ। मस्कोका मेयरका अनुसार राजधानीतर्फ आएका करिब ४५० ड्रोन नष्ट गरिएको थियो।
आक्रमणका क्रममा मस्को आयल रिफाइनरी र एउटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। मस्को क्षेत्रका गभर्नरका अनुसार आक्रमणमा दुई जनाको मृत्यु र २० जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी युद्ध क्षमतालाई कमजोर पार्ने उद्देश्यले तेल तथा लजिस्टिक पूर्वाधारलाई निशाना बनाइएको बताएका छन्।
त्यसपछि रुसले दक्षिणी युक्रेनको जापोरिझ्झिया सहित विभिन्न क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। जापोरिझ्झियामा आवासीय भवन, विश्वविद्यालय र सपिङ मललगायत स्थानमा क्षति पुगेको र कम्तीमा पाँच जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
खार्किभ क्षेत्रमा रुसी ड्रोनले एउटा घरमा प्रहार गर्दा ४५ वर्षीया महिलाको मृत्यु भएको र उनका १३ वर्षीय छोरा गम्भीर घाइते भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ। रुसले भने आफ्ना आक्रमणहरू युक्रेनी लजिस्टिक केन्द्र, गोदाम तथा बन्दरगाहलगायत सैन्य प्रयोजनसँग सम्बन्धित स्थानमा केन्द्रित रहेको दाबी गरेको छ।
सोमबार रुसले रातभरमा २४४ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। उता युक्रेनी वायुसेनाले सोही रात रुसबाट आएका १४८ ड्रोन खसालिएको वा निष्क्रिय पारिएको जनाएको छ। दुवै पक्षका यी सैन्य दाबीहरू स्वतन्त्र रूपमा पूर्ण पुष्टि भएका छैनन्।
चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि पछिल्लो विशाल ड्रोन आक्रमणले दुई देशबीचको हवाई युद्ध अझ तीव्र बन्दै गएको देखाएको छ।
