युक्रेनमा फेरि रुसी हमला, मिसाइल र ड्रोन आक्रमणमा १९ घाइते
किएभ : रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न क्षेत्रमा रातभर मिसाइल तथा ड्रोन आक्रमण गर्दा बालबालिका सहित कम्तीमा १९ जना घाइते भएका छन्।
किएभका अधिकारीहरूका अनुसार राजधानीका १० भन्दा बढी स्थानमा आक्रमण भएको छ भने आसपासको क्षेत्रमा ३३ स्थानमा क्षति पुगेको छ। घाइतेमध्ये १० वर्षीया बालिका र १२ वर्षीय बालक समेत रहेका छन्। आवासीय भवन, कार्यालय, गोदाम तथा सवारीसाधनमा समेत क्षति पुगेको छ।
युक्रेनी वायुसेनाले रातभरको आक्रमणमा १३१ वटा रुसी हवाई लक्ष्य नष्ट वा निष्क्रिय पारेको जनाएको छ। आक्रमणमा ब्यालिस्टिक तथा क्रुज मिसाइलसँगै ठूलो संख्यामा ड्रोन र डिकोय प्रयोग गरिएको युक्रेनी पक्षको भनाइ छ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले पनि रुसको यारोस्लाभलस्थित तेल प्रशोधन केन्द्र र रोस्तोभ क्षेत्रको सैन्य हवाई अड्डालाई निशाना बनाएको बताएका छन्।
