बार्सिलोनाको आक्रामक प्रदर्शन, रेसिङविरुद्ध ७–२ को फराकिलो जित
बार्सिलोना : ब्राजिलियन स्टार राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकालेको छ।
बुधबार स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि जोआओ कान्सेलोले आठौँ मिनेटमा गोल गर्दै खाता खोले। राफिन्हाले २५औँ मिनेटमा पेनाल्टीमार्फत आफ्नो पहिलो गोल गरे भने ४२औँ मिनेटमा दोस्रो गोल थपे। उनले ६७औँ मिनेटमा अर्को पेनाल्टीलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे।
बार्सिलोनाको अर्को गोल रेसिङका एसियर भिल्लालिब्रेबाट आत्मघाती रूपमा आएको थियो। वैकल्पिक खेलाडी गाब्रियल जेसुसले ७९औँ मिनेटमा गोल गरे भने लामिन यामलले ८९औँ मिनेटमा सातौँ गोल गर्दै बार्सिलोनाको शानदार जित सुनिश्चित गरे।
रेसिङका लागि मागुएटे गुएयेले ३०औँ र यासिर जाबिरीले ६५औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै बार्सिलोना ४–१ ले अगाडि थियो।
जितसँगै बार्सिलोनाले ला लिगाका सुरुवाती ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ। टोलीले ती ६ खेलमा २८ गोल गरिसकेको छ।
बार्सिलोनाले यो सिजन सबै प्रतियोगिता मिलाएर सुरुवाती सात खेलमा सातै जित निकालेको छ। क्लबको इतिहासमा सिजनको सुरुवाती सात प्रतिस्पर्धात्मक खेल लगातार जितेको यो पहिलो पटक हो।
राफिन्हाले पनि उत्कृष्ट लय कायम राखेका छन्। रेसिङविरुद्धको ह्याट्रिकसँगै उनले यस सिजन ला लिगाका ६ खेलमा नौ गोल पुर्याएका छन्।
