अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठक्कर, एकअर्कामाथि आरोप 

नयाँदिल्ली : उत्तरी अरब सागरमा भारत र पाकिस्तानका नौसैनिक जहाज एकआपसमा ठोक्किए पछि दुई देशबीच कूटनीतिक तनाव बढेको छ। घटनापछि दुवै देशले एकअर्काका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर औपचारिक विरोध जनाएका छन्।

मंगलबार, सेप्टेम्बर १५ मा भएको घटनामा ठूलो क्षति वा मानवीय हताहती भएको रिपोर्ट आएको छैन। तर घटना कसरी र कहाँ भयो भन्ने विषयमा भारत र पाकिस्तानले फरक–फरक दाबी गरेका छन्।

भारतले घटना अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको बताउँदै पाकिस्तानी नौसैनिक जहाजको व्यवहारलाई ‘अस्वीकार्य र गैरव्यावसायिक’ भनेको छ। भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित पाकिस्तानी कार्यवाहक राजदूतलाई बोलाएर विरोध जनाएको छ।

पाकिस्तानले भने घटना आफ्नो विशेष आर्थिक क्षेत्र (EEZ) मा नौसैनिक अभ्यास भइरहेका बेला भएको दाबी गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय जहाजले पाकिस्तानी नौसैनिक जहाजको अत्यन्त नजिक आएर जोखिमपूर्ण गतिविधि गर्दा दुई जहाजबीच सम्पर्क भएको हो।

पाकिस्तानले पनि इस्लामाबाद स्थित भारतीय कूटनीतिज्ञलाई बोलाएर औपचारिक विरोध जनाएको छ। दुवै पक्षले घटनालाई सन् १९९१ मा भएको सैन्य अभ्यास तथा गतिविधि सम्बन्धी द्विपक्षीय सम्झौतासँग जोड्दै एकअर्कामाथि सम्झौता पालना नगरेको आरोप लगाएका छन्।

भारत र पाकिस्तान बीच लामो समयदेखि राजनीतिक तथा सैन्य तनाव रहँदै आएको अवस्थामा समुद्रमा भएको पछिल्लो घटनाले दुई छिमेकी मुलुकबीच फेरि कूटनीतिक विवाद बढाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ