१८ दिनको अवरोधपछि पृथ्वी राजमार्ग खुल्दै, यातायात व्यवसायी उत्साहित 

काठमाडौं : बाढी र नदी कटानका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड १८ दिनपछि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

सडक विभागले असोज १ गते बिहान ६ बजेदेखि उक्त खण्डमा पूर्ण रूपमा यातायात सञ्चालन गरिने जनाएको छ। भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

यातायात सञ्चालनका लागि क्षतिग्रस्त सडकभन्दा माथिबाट नयाँ ट्र्याक निर्माण तथा सडक सुधारको काम गरिएको छ। नयाँ ट्र्याकमा ग्राभेल तथा आवश्यक प्राविधिक काम गरी सवारी सञ्चालनको तयारी पूरा गरिएको सडक विभागले जनाएको छ।

यो सडक काठमाडौं प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक भएकाले लामो समयको अवरोधले यात्रुवाहक तथा मालवाहक सवारी प्रभावित भएका थिए। सडक पूर्ण रूपमा खुलेपछि यात्रुसँगै पेट्रोलियम पदार्थ, ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ