आश्रय केन्द्रमा बढ्दो स्वास्थ्य जोखिम: सुत्केरी र बालबालिका सबैभन्दा बढी प्रभावित
नुवाकोट — भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित हजारौं नागरिक आश्रय केन्द्रमा बस्न बाध्य हुँदा स्वास्थ्य तथा सरसफाइको चुनौती बढेको छ। नुवाकोटका विदुर, बेलकोटगढी र किस्पाङमा सञ्चालन गरिएका २५ आश्रय केन्द्रमा २,७१४ जना बसिरहेका छन्, जसमा १,२११ महिला छन्।
केन्द्रहरूमा बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा नियमित औषधि सेवन गर्ने नागरिक समेत रहेका छन्। धेरै मानिस एउटै स्थानमा बस्दा पर्याप्त शौचालय, सफा पानी र स्वास्थ्यकर्मीको अभाव देखिएपछि संक्रामक रोग फैलिन सक्ने चिन्ता बढेको छ।
पीडितहरूले प्रत्येक आश्रय केन्द्रमा चिकित्सकसहित नियमित स्वास्थ्य टोली परिचालन गर्न र सुत्केरी तथा बालबालिकाका लागि विशेष व्यवस्था गर्न माग गरेका छन्। अधिकांश केन्द्रमा स्वास्थ्यकर्मी नभएको र व्यवस्थापनको प्रयास भइरहेको जनाइएको छ।
यसैबीच, विदुर नगरपालिकाले बस्न अयोग्य घर भएका प्रभावित परिवारलाई तत्कालका लागि मासिक १० हजार रुपैयाँ घरभाडा सहयोग उपलब्ध गराउने तथा खाद्यान्न, लत्ताकपडा, किचेन र हाइजिन सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
