ग्यास उपभोक्तालाई राहत : प्रतिसिलिन्डर २,०६० रुपैयाँभन्दा बढी नलिन उद्योग संघको आग्रह 

काठमाडौं । काठमाडौं उपत्यकाका एलपी ग्यास उपभोक्ताले अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार (असोज २ गते) देखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको छ।

यसअघि पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेको थियो। ढुवानी खर्च बढेको भन्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त जोडेर अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसा सम्ममा बिक्री गर्न भनिएको थियो।

तर अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक सञ्चालनमा आएपछि ग्यास बोकेका बुलेटहरू काठमाडौं आउन थालेका छन्। ढुवानी सहज भएसँगै अतिरिक्त शुल्क लिनुपर्ने अवस्था नरहेको भन्दै संघले पुनः साविककै मूल्य कायम गर्न आग्रह गरेको हो।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी सूचनामा काठमाडौं उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगीलाई प्रतिसिलिन्डर २,०६० रुपैयाँभन्दा बढी नलिन र आफ्ना बिक्रेता तथा वितरकलाई पनि सोहीअनुसार जानकारी गराउन भनिएको छ।

यससँगै केही समयदेखि बढेको ढुवानी खर्चको भार खेपिरहेका उपभोक्तालाई प्रतिसिलिन्डर करिब १०५ रुपैयाँको राहत मिल्ने भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ