फुटबलको भविष्य जोगाउन निलम्बन हटाउने प्रयासमा सरकार 

काठमाडौं : फिफाको निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा फर्काउन सरकारले उच्चस्तरीय पहल गरिरहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ देखि अर्को सूचना नभएसम्म एन्फालाई निलम्बन गरेको जानकारी दिए। निलम्बन फुकुवा गराउन सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको उनको भनाइ छ।

मन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दिएको निर्देशन पालना नगरी साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै एन्फालाई पटक–पटक सचेत गराइएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद विकास ऐनको व्यवस्थाअनुसार राखेपले एन्फालाई निलम्बन गरेको र एन्फाको निवेदनपछि २०८३ जेठ १ गते उक्त निलम्बन फुकुवा गरिएको उनले बताए।

तर राखेपको निर्देशनलाई फिफाले ‘तेस्रो पक्षको हस्तक्षेप’ का रूपमा लिँदै आफ्नो विधानअनुसार एन्फामाथि निलम्बन लगाएको मन्त्री पोखरेलले संसद्लाई जानकारी गराए।

यसैबीच नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्यान्डमा उपचाररत फुटबल खेलाडी आशिष राईलाई राखेपको स्वीकृत बजेटभित्र रहेर उपचार खर्च उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री पोखरेलले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ