दक्षिण कोरिया–उत्तर कोरिया सीमाको DMZ मा विस्फोट, तीन सैनिक अधिकारी घाइते
सोल : दक्षिण कोरिया र उत्तर कोरियालाई छुट्याउने असैन्यीकृत क्षेत्र (DMZ) मा सोमबार भएको विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक अधिकारी घाइते भएका छन्। घटना सीमाको पश्चिमी क्षेत्रमा रहेको सैन्य सीमांकन रेखा (MDL) को दक्षिणतर्फ भएको दक्षिण कोरियाको संयुक्त चिफ्स अफ स्टाफ (JCS) ले जनाएको छ।
सैनिकहरू DMZ भित्र सुरक्षित मार्ग तयार गर्न तथा बारुदी सुरुङ लगायत विस्फोटक पदार्थ खोज्ने अभियानमा रहेका बेला स्थानीय समयअनुसार बिहान करिब १०:५० बजे विस्फोट भएको थियो। घाइतेमध्ये दुई जनालाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो। सैन्य स्रोतलाई उद्धृत गर्दै योनहापले दुई जनालाई गम्भीर चोट लागेको तर घाइते कसैको पनि अवस्था जीवनलाई खतरा हुने खालको नरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा बारुदी सुरुङ विस्फोट भएको सम्भावना उच्च देखिएको छ। तर विस्फोट भएको बारुदी सुरुङ उत्तर कोरियाले राखेको हो वा दक्षिण कोरियाको पुरानो सुरुङ हो भन्ने पुष्टि भइसकेको छैन। पछिल्लो भारी वर्षाका कारण उत्तर कोरियातर्फबाट बारुदी सुरुङ बगेर आएको हुन सक्ने सम्भावनासमेत अनुसन्धान भइरहेको छ।
उत्तर कोरियाले पछिल्ला वर्षमा सीमाक्षेत्रमा बारुदी सुरुङ बिछ्याउने, काँडेतार थप्ने र ट्याङ्क रोक्ने संरचना निर्माण गर्ने काम बढाएको छ। करिब २४८ किलोमिटर लामो DMZ विश्वकै सबैभन्दा कडा सुरक्षा व्यवस्था भएका सीमाक्षेत्रमध्ये एक हो।
दक्षिण कोरियाली सेनाले विस्फोटको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।
