अदालतको निर्णयपछि देउवाको आत्मविश्वासपूर्ण प्रतिक्रिया— ‘पुनरावलोकनको निस्सा पाउनु नै आधाभन्दा बढी जित हो’ 

काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त भएसँगै आफ्नो पक्षले आधाभन्दा बढी कानुनी लडाइँ जितिसकेको दाबी गरेका छन्। अन्तिम निर्णयपछि कांग्रेसको रुख चुनाव चिह्न, चारतारे झण्डा र पार्टीको पूर्ण आधिकारिकता आफ्नै पक्षले पाउने उनको दाबी छ।

११३औँ बीपी जयन्तीका अवसरमा भक्तपुर कांग्रेसले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र देखिएको अन्योल हटाउन र नेता–कार्यकर्तालाई एकजुट बनाउन आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने घोषणा गरे।

देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि समेत प्रश्न उठाए। प्रतिनिधिहरूको विधिवत् पहिचान र आवश्यक सनाखत नगरी तथा आफूखुसी नाम समावेश गरेर महाधिवेशन गरिएको उनको आरोप छ।

उनले काठमाडौं आउँदा नागरिक तथा कार्यकर्ताबाट पाएको समर्थन कुनै व्यक्ति विशेषप्रतिको नभई समग्र कांग्रेसको शक्ति र एकताको अभिव्यक्ति भएको बताए।

यसैबीच, संस्थापनइतर समूहका नेताहरूले आफूहरूले महाधिवेशनको मिति तय गरिसकेकाले आधिकारिक महाधिवेशन आफूहरूले नै गर्ने बताएका छन्। कांग्रेस नेता शशांक कोइरालाले पार्टी विभाजनको जोखिम देखिएको भन्दै देउवा नेतृत्वमा हुने महाधिवेशनलाई एकताबद्ध र सफल बनाउन तथा अर्को पक्षलाई समेत साथमा ल्याउने प्रयास गर्नुपर्ने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ