कांग्रेस महाधिवेशनको बाटो खुला: सर्वोच्चबाट देउवा पक्षले पाएन अन्तरिम आदेश
काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो।
न्यायाधीश नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्नुपर्ने अवस्था प्रथम दृष्टिमै नदेखिएको भन्दै अन्तरकालीन आदेश जारी नगरेको हो।
यससँगै कांग्रेसले नियमित कामकारबाही तथा महाधिवेशन प्रक्रिया अघि बढाउन सक्ने भएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ।
