चिलिमे सुरुङमा बढ्यो आशा: जोखिम मोलेर १०५ मिटरभित्र पुग्यो उद्धार टोली
काठमाडौं — भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। नेपाली र भारतीय सेनाको विशेषज्ञ टोली ‘सर्भिस टनेल’को प्रवेश विन्दुबाट १०५ मिटरभित्रसम्म पुगिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढीपछि सुरुङसम्म पुग्ने पहुँच सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउने काममा उल्लेखनीय प्रगति भएको छ। वारिपारि आवतजावत सहज बनाउन डोरी (रोप) समेत टाँगिएको छ।
नेपाली सेनाको टोली बाढी आएकै दिन घटनास्थल पुगेर प्रारम्भिक अनुगमनमा जुटेको थियो। त्यसपछि सुरुङको प्रवेश विन्दुमा जमेको दलदल पन्छाउँदै भित्र प्रवेश गर्ने क्रममा दुई जनाको शव फेला परेको बताइएको छ।
भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। सुरुङभित्र जमेको दलदल र अवरोध हटाउन बबक्याट एस्काभेटर तथा अर्को एस्काभेटर प्रयोग गरी उत्खनन र सफाइ कार्य निरन्तर भइरहेको छ।
