१० दिनको अन्धकारपछि नयाँ जीवन: सुरुङबाट जीवितै फर्किए सञ्जय र कवीर
नुवाकोट — भोटेकोशी बाढी आएको १० दिनपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कवीर महर्जनलाई जीवितै उद्धार गरिएको छ। लामो समयसम्म सम्पर्कविहीन रहेका उनीहरू सुरुङको करिब ४० मिटर भित्र भेटिएका थिए।
शुक्रबार बिहान करिब २ बजे उद्धार टोलीले सुरुङभित्रबाट मानिस चिच्याएको आवाज सुनेको थियो। टोलीले ‘कोही हुनुहुन्छ?’ भनेर बोलाउँदा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आएपछि उद्धार अभियान तीव्र पारिएको थियो।
सञ्जयलाई बिहान करिब ९ बजे र कवीरलाई ९:२० बजे सुरुङबाट निकालिएको थियो। उद्धारपछि दुवैलाई उपचारका लागि लगिएको र हाल छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको उल्लेख छ।
