पाँच दिनदेखि अन्धकारमा सिमकोट: विद्युत् आपूर्ति ठप्प, जनजीवन प्रभावित
हुम्ला — हुम्ला सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रमा पाँच दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा दैनिक जनजीवन प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा प्राविधिक समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो।
विद्युत् नहुँदा सरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसाय र सर्वसाधारण प्रभावित भएका छन्। मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन तथा विद्युतीय उपकरण सञ्चालन गर्नसमेत समस्या भइरहेको छ।
स्थानीय स्तरमा उपलब्ध जनशक्तिबाट तत्काल मर्मत सम्भव नभएकाले आवश्यक उपकरण र थप प्राविधिक जनशक्ति आए पछि मात्रै सेवा पुनः सञ्चालन गर्न सकिने बताइएको छ।
यसैबीच स्थानीयले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् सेवा सुचारु गर्न तथा पटक–पटक दोहोरिने समस्याको दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।
