रसुवामा उद्धार तीव्र: ८८ जनाको हवाई उद्धार, सयौँ पर्यटक अझै सम्पर्कबाहिर
काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढी र पहिरोका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा रहेका सयौँ पर्यटकसँग सम्पर्क हुन सकेको छैन।
नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार ३८४ पर्यटक सम्पर्कविहीन रहेको बताइएको छ। तीमध्ये २९१ विदेशी र ९३ नेपाली पर्यटक छन्।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच नेपाली सेनाले हेलिकोप्टर परिचालन गरी ८८ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ भने सुरक्षा निकायले अन्य प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको खोजी जारी राखेका छन्।
बाढीले सडक, पुल र सञ्चार संरचनामा क्षति पुर्याउँदा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र आधिकारिक सूचनालाई पालना गर्न आग्रह गरेका छन्।
