काठमाडौंको माछापोखरीमा पार्किङ गरिएको बसमा आगलागी, चालक र सहचालक घाइते
Content:
काठमाडौं : काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित बुद्ध मल पछाडिको करिडोरमा पार्किङ गरिएको बसमा आइतबार राति आगलागी हुँदा चालक र सहचालक घाइते भएका छन्। आगलागी हुँदा दुवै जना बसभित्र सुतिरहेका थिए।
काठमाडौं–वीरगन्ज रुटमा चल्ने बसमा राति करिब ९:५२ बजे आगो लागेको थियो। सुरक्षाकर्मीले बसभित्र रहेका चालक ३१ वर्षीय सुरेन्द्र अर्याल र सहचालक २३ वर्षीय राजेश परियारलाई उद्धार गरी उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका थिए।
अस्पतालका अनुसार चालक अर्याल उपचारपछि डिस्चार्ज भएका छन् भने सहचालक परियारको अनुहार र दुवै हातमा पोलेको र आईसीयूमा उपचार भइरहेको छ। आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रहरीले आगो बसको भित्री भागबाट सल्किएको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ। यद्यपि आगलागीको वास्तविक कारण पुष्टि भएको छैन र प्रहरीले सीसीटीभी फुटेजसमेत अध्ययन गर्दै थप अनुसन्धान गरिरहेको छ।
