भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बुधबार राति ११:०५ बजेसम्म १५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले विवरण थप अद्यावधिक हुन सक्नेछ।

प्रहरीको विवरणअनुसार चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको छ।

बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। सयौँ मानिस अझै सम्पर्कविहीन रहेको सूचना आइरहेको छ भने सडक, पुल, घर तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा ३,३१८ प्रहरी परिचालन गरिएको छ भने ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई निरन्तरता दिएका छन्।