अमेरिका र जापानसँग कूटनीतिक संवाद बढाउँदै प्रधानमन्त्री शाह, दुवै राजदूतसँग छुट्टाछुट्टै वार्ता 

काठमाडौं — विदेशी राजदूतसँग एक्लाएक्लै भेट नगर्ने सुरुवाती नीतिमा परिवर्तन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार अमेरिकी र जापानी राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र जापानी राजदूत माएदा तोरुसँग द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेट मुख्यतः परिचयात्मक हुने अपेक्षा गरिएको छ। राजदूतहरूले नेपालसँगको द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउनुका साथै आफ्ना सरकारका सन्देशसमेत प्रधानमन्त्रीसमक्ष राख्ने बताइएको छ।

प्रधानमन्त्री बनेपछि सुरुमा विदेशी राजदूतसँग सामूहिक भेटलाई प्राथमिकता दिएका शाहले पछिल्लो समय भने राजदूतहरूसँग छुट्टाछुट्टै संवाद गर्न थालेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ