सरकारलाई प्रचण्डको चेतावनी– गलत कदम नसच्याए आन्दोलनमा उत्रिन्छौं
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमविरुद्ध चाडपर्वपछि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाए। उनले संसदमा प्रतिपक्षी शक्तिलाई एकताबद्ध गर्दै सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनलाई समेटेर संघर्ष अघि बढाउने बताए।
देशमा देखिएका राजनीतिक चुनौती सामना गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच व्यापक एकता आवश्यक रहेको उनको भनाइ थियो। उनले कम्युनिष्ट शक्तिहरूबीच नयाँ ढंगले एकता प्रक्रिया अघि बढाउनुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले देश गम्भीर चुनौतीको अवस्थामा रहेको बताए। विदेशी चलखेलका कारण राष्ट्रियतामाथि जोखिम बढेको दाबी गर्दै उनले दुई ठूला छिमेकीबीच रहेको नेपाल विदेशी शक्तिको खेलमैदान बन्न नहुने धारणा राखे।
