एमालेसँग एकताको चर्चा निराधार, पद बाँडफाँटबारे कुनै सहमति भएको छैन : वर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेकपा र एमालेबीच तत्काल पार्टी एकता तथा पद बाँडफाँट हुन लागेको भन्ने चर्चा सत्य नभएको बताएका छन्।
शनिबार काभ्रेको बनेपामा आयोजित कार्यक्रममा पुनले भविष्यमा पार्टी एकताबारे नेतृत्व तहमा कुराकानी भए पनि एमालेभित्रको आन्तरिक बहस नटुङ्गिएसम्म तत्काल एकताको अवस्था नरहेको स्पष्ट पारे।
उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। आवश्यकताअनुसार कांग्रेससँग समेत सहकार्य जारी रहने उनको भनाइ थियो।
पुनले वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि अपेक्षित नतिजा नआउँदा असन्तुष्टि बढेको टिप्पणी गरे। साथै, संविधानबारे सत्तारुढ रास्वपाले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए।
राजदूत नियुक्तिको विषयमा पनि उनले सरकारको आलोचना गर्दै नयाँ भनिएका राजनीतिक शक्तिहरूले पुरानै प्रवृत्तिका व्यक्तिलाई संरक्षण गरिरहेको आरोप लगाए।
