“नेपाल–अष्ट्रेलिया सम्बन्धमा नयाँ संवाद: प्रधानमन्त्री शाह र अल्बानिजबीच टेलिफोन वार्ता” 

काठमाडौं — प्रधानमन्त्री बालेन शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको छ। वार्तामा भोटेकोशी बाढीपछिको अवस्था, उद्धार तथा राहत र दुई देशबीचको सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद दिए।

उनले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराएकोमा अष्ट्रेलियाप्रति कृतज्ञता व्यक्त गरे। बाढीपछि बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजीसमेत तीव्र पारिएको जानकारी उनले दिए।

अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले नेपालले भोगिरहेको कठिन परिस्थितिप्रति चासो र चिन्ता व्यक्त गरेका छन्। दुवै पक्षले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काममा निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ