बाढीपछि चिलिमेमा बेपत्ता पाँच कर्मचारी मृत फेला, शव परिवारले बुझे
रसुवा : चिलिमे जलविद्युत् केन्द्रमा बाढीपछि फसेका पाँच कर्मचारीको शव पहिचान गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।
मृत्यु हुनेमा केन्द्रका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्।
उनीहरूको शव बुधबार विद्युत् केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा फेला परेको थियो। शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट लगेर पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरिएको हो।
खोज तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल, भारतीय सेना र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन भएका थिए।
भोटेकोशीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् केन्द्रको सुरुङ पुरिनुका साथै आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ। रसुवामा खोज तथा उद्धार, राहत वितरण र बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम अझै जारी छ।
