काठमाडौंमा ग्यास संकट चर्कियो: होटल–रेस्टुरेन्ट बन्द हुने अवस्थामा
काठमाडौं — खाना पकाउने ग्यासको अभाव चर्किँदै जाँदा काठमाडौं उपत्यकाका सर्वसाधारणसँगै होटल तथा रेस्टुरेन्ट व्यवसाय गम्भीर समस्यामा परेका छन्। कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बुलेट काठमाडौं आउन नसकेपछि आपूर्ति प्रभावित भएको हो।
काठमाडौं उपत्यकामा दैनिक करिब ३५–४० हजार सिलिन्डरको माग रहे पनि ग्यास वितरक महासंघका अनुसार अहिले त्यसको करिब ५ प्रतिशत मात्रै नियमित आपूर्ति भइरहेको छ।
अभावका कारण कतिपय उपभोक्ता मध्यरातदेखि नै सिलिन्डर लिएर लाइन बस्न बाध्य छन्। केही साना होटल–रेस्टुरेन्टमा ग्यासको मौज्दात सकिन लागेकाले अवस्था यस्तै रहे व्यवसाय नै बन्द गर्नुपर्ने सञ्चालकहरूले बताएका छन्।
वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास भइरहेको छ। तर ढुवानी खर्च बढेको भन्दै केही रिफिलिङ प्लान्टले प्रतिसिलिन्डर रु. १००–१०५ सम्म मूल्य बढाएका छन्। खाली सिलिन्डर साटेर लिने ग्यासको सरकारी मूल्य भने रु. २,०६० रहेको छ।
