नेपाल प्रहरीमा ३३४ जनाका लागि जागिर खुल्यो, असोज १२ देखि आवेदन”
काठमाडौं : नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
नयाँ भर्नाअन्तर्गत प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी १२३ जनाका लागि आवेदन खुलाइएको छ।
प्रहरी सहायक निरीक्षक पदका उम्मेदवारले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन आवेदन दिनुपर्नेछ। कार्यालय सहयोगी पदका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर, सातै प्रदेशका तोकिएका प्रहरी तालिम केन्द्र तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फाराम बुझाउन सकिने प्रहरीले जनाएको छ।
दुवै समूहका पदमा असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ। आवश्यक शैक्षिक योग्यता, उमेर, परीक्षा प्रक्रिया र पाठ्यक्रमसहितको विस्तृत सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।
