तेहरानका सडकमा विशाल प्रदर्शन, हजारौं सहभागी 

तेहरान : इरानको राजधानी तेहरानमा शुक्रबार विशाल सरकार समर्थित प्रदर्शन भएको छ। अमेरिका र इजरायलसँग युद्ध सुरु भएयताको सबैभन्दा ठूलो सरकारद्वारा आयोजित प्रदर्शनमा लाखौं मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनमा सहभागी स्वयंसेवकहरू सैन्य पोसाकमा इरानी झण्डासहित तेहरानका सडकमा मार्च गरेका थिए। कार्यक्रम ‘Janfaday-e Iran’ अर्थात् देशको रक्षाका लागि बलिदान दिन तयार स्वयंसेवक अभियानसँग सम्बन्धित रहेको बताइएको छ। सहभागीमध्ये केहीलाई सीमित सैन्य तथा आपतकालीन तालिम दिने योजना रहेको छ।

इरानी सरकारी सञ्चारमाध्यमले ३ लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको जनाएको छ। तेहरानका रिभोलुसनरी गार्ड प्रमुख हसन हसनजादेहका अनुसार अभियानमा ६ लाखभन्दा बढीले नाम दर्ता गराएका छन्। यद्यपि यी संख्याको स्वतन्त्र पुष्टि भएको छैन।

प्रदर्शनका क्रममा ड्रोन, हवाई प्रतिरक्षा प्रणालीलगायत सैन्य उपकरण पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा राष्ट्रपति मसुद पेजेस्कियान तथा अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। केही सहभागीले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गरेका थिए।

अमेरिकी प्रतिबन्ध र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दीका कारण आर्थिक दबाब बढिरहेका बेला इरान सरकारले यो प्रदर्शनलाई राष्ट्रिय एकता र प्रतिरक्षा तयारीको प्रदर्शनका रूपमा प्रस्तुत गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ