जापानमा सुरु भयो एसियन गेम्स, नेपालका १३५ खेलाडी सहभागी
काठमाडौं : जापानको आइची–नागोयामा सुरु भएको २०औँ एसियन गेम्समा नेपालबाट १३५ खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित नेपाली टोली कुल २११ सदस्यीय रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
नेपालबाट सबैभन्दा बढी कबड्डीमा २४ खेलाडी सहभागी छन्। क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा ८ र बक्सिङमा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एथलेटिक्स, जुडो, टेबलटेनिस, कुस्ती, पौडी, टेनिस, ब्याडमिन्टन, गल्फ, तेक्वान्दोलगायत खेलमा पनि नेपालको सहभागिता छ।
उद्घाटन समारोहमा बक्सर चन्द्रबहादुर थापामगर र कबड्डी खेलाडी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। प्रतियोगिता जापानमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।
सन् २०२३ को हाङ्झाउ एसियन गेम्समा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए। यसपटक कडा छनोट मापदण्डका कारण खेलाडी संख्या घटेर १३५ पुगेको छ।
