चितवनको जंगलमा ‘रोनाल्डो’को यात्रा समाप्त
चितवन : चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। शनिबार बिहान बिसहजारी ताल नजिक कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको हो। पोस्टमार्टमपछि उसको मृत्यु विद्युत् करेन्ट लागेर भएको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताएका छन्।
निकुञ्ज सुरक्षाका लागि रहेको नेपाली सेनाको पोस्टमा विद्युत् पुर्याइएको तार रोनाल्डोले तानेर चपाउँदा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनापछि पोस्टमार्टम गरी दाह्रा निकालेर हात्तीको अन्तिम संस्कार गरिएको छ।
करिब २४ वर्षदेखि चितवन क्षेत्रमा देखिँदै आएको रोनाल्डो सौराहा–खोरसोर क्षेत्रमा निकै परिचित थियो। खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा समेत उसको महत्वपूर्ण भूमिका थियो। निकुञ्जको विवरणअनुसार केन्द्रमा जन्मिएका ३८ वटा छावा रोनाल्डोकै सन्तान हुन्।
