एमाले पुनर्निर्माणको खाका लिएर केन्द्रीय कमिटीमा ओली
काठमाडौं : नेकपा एमालेले पार्टीको आन्तरिक संरचना पुनर्गठनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। ललितपुरमा सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छलफलका लागि केन्द्रीय सदस्यहरूलाई वितरण गरेका छन्।
एमाले नेता शेरधन राईका अनुसार मंगलबारदेखि ओलीको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु हुनेछ। छलफलमा सहभागी प्रत्येक केन्द्रीय सदस्य तथा पदाधिकारीले आफ्नो धारणा राख्न ३ मिनेटको समय पाउनेछन्।
तीन दिनभित्र बैठक सम्पन्न गर्ने गरी कार्यसूची तय गरिएको छ। बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण निर्णयसमेत हुने बताइएको छ।
विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने सदस्यहरूको मनोनयन, पोलिटब्युरो तथा स्थायी समिति गठन तथा सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनसमेत बैठकको कार्यसूचीमा छन्।
यससँगै एमालेको नयाँ नेतृत्व संरचना र आगामी राजनीतिक दिशाबारे केन्द्रीय कमिटी बैठक केन्द्रित हुने देखिएको छ।
