जेनजीलाई सामूहिक रूपमा दोष नलगाइयोस्’, मिराजले गृहमन्त्रीसँग मागे ६ विषयमा जवाफ

काठमाडौं — पूर्वप्रधानन्यायाधीशलाई ‘जेनजी युवाबाट धम्की आएको’ भन्ने प्रहरीको दाबीप्रति प्रश्न उठाउँदै जेनजी अगुवा मिराज ढुङ्गानाले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र पठाएका छन्।

सोमबार गृह मन्त्रालय तथा सम्बन्धित अधिकारीलाई इमेलमार्फत पठाइएको ज्ञापनपत्रमा ढुङ्गानाले धम्कीसम्बन्धी घटनाको वास्तविकता, स्रोत, अनुसन्धान र कानुनी प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

उनले ‘जेनजी’ कुनै व्यक्ति, संगठन वा गिरोह नभई निश्चित उमेर समूहलाई जनाउने भन्दै कुनै व्यक्तिको गतिविधिलाई सम्पूर्ण पुस्तासँग जोडेर प्रस्तुत गर्न नहुने बताएका छन्।

ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई वास्तवमै धम्की आएको हो वा होइन, त्यसको स्रोत र प्रकृति के हो, धम्कीलाई जेनजीसँग जोड्ने आधार के हो तथा प्रहरी अनुसन्धानबाट के निष्कर्ष आएको छ भन्नेलगायत ६ विषयमा गृह मन्त्रालयको आधिकारिक जवाफ मागेका छन्।

कुनै व्यक्ति वा समूहले धम्की दिएको प्रमाण भए कानुनअनुसार कारबाही गर्नुपर्ने तर अनुसन्धान र आधिकारिक निष्कर्षबिना सम्पूर्ण पुस्तालाई शंकाको घेरामा राख्दा भ्रम र अविश्वास सिर्जना हुने उनको भनाइ छ।

नागरिकमा देखिएको अन्योल हटाउन सम्बन्धित सरकारी निकायले यथाशीघ्र तथ्यमा आधारित आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने ढुङ्गानाको माग छ।