बाढीले घर बगायो, पीडित परिवारलाई होटलमा आश्रय
गोरखा — चुमनुब्री गाउँपालिका–२ र ४ को सीमामा पर्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले पूर्ण रूपमा घरविहीन भएका चार परिवारलाई होटलमा राखिएको छ।
गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार वडा नम्बर ४ का सदस्य फुर्पू ठिले लामाले सञ्चालन गरेको होटलमा पीडित परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको हो। प्रभावित परिवारलाई चामल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला र चिनीलगायत राहत सामग्री पनि उपलब्ध गराइएको छ।
आइतबार बिहान करिब ३:३० बजे आएको बाढीले चार घर, दुई पुल र एउटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीपछि मनास्लु पदमार्गसमेत तत्कालका लागि बन्द गरिएको छ। बगेका पुलको विकल्प तयार गरी पदमार्ग पुनः सञ्चालन गर्ने तयारी गाउँपालिकाले थालेको छ।
