काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा ३० बस सञ्चालन
काठमाडौं : काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा नौ स्थानीय तह र साझा यातायातबीच सहकार्य गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा ल्याइएको हो।
यसअघि वैशाख १ गतेदेखि दुई रुटमा सात वटा बसमार्फत परीक्षणका रूपमा रात्रिकालीन सेवा सञ्चालन गरिएको थियो। परीक्षणपछि सेवा विस्तार गर्दै बस संख्या सातबाट ३० र रुट संख्या दुईबाट छ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार जगाती–सूर्यविनायक–ठमेलमा ६, गोदावरी–लगनखेल–बूढानीलकण्ठमा ६, चक्रपथमा दुवै दिशातर्फ ८, कीर्तिपुर–जमलमा ४, टाखेल–ठमेलमा २ र नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन्।
यस सहकार्यमा काठमाडौं र ललितपुर महानगरपालिकासहित बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका सहभागी छन्। राति कामबाट फर्किने श्रमिक, व्यवसायी, अस्पताल जाने बिरामी तथा स्वदेशी–विदेशी पर्यटकलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउनु सेवाको मुख्य उद्देश्य हो।
चक्रपथको सेवा प्रयोग गरी बस परिवर्तन गर्दै विभिन्न रुटमा यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने व्यवस्था गरिएको छ। साझा यातायातले डिजिटल टिकटिङ प्रणालीसमेत सुरु गरेको छ, जसमा यात्रुले QR वा नगद दुवै माध्यमबाट टिकट लिन सक्नेछन्।
यात्रुबाट उठेको भाडाले सञ्चालन खर्च नपुगेमा अपुग रकम स्थानीय तहहरूले समझदारीअनुसार व्यहोर्नेछन्। साथै आर्थिक वर्ष २०८३/८४ भित्र निर्धारित स्थानमा डिजिटल साइनेजसहितका बस स्टप विकास गर्ने र आवश्यक स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने योजना पनि छ।
यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा रात्रिकालीन बस सेवा उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्न सकिने समझदारीमा उल्लेख छ।
