सुनको मूल्य तोलामा १,३०० रुपैयाँ घट्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको हो।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ७९५ रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँ बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको छ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य उच्च तहमा रहँदै दैनिक रूपमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा विश्वव्यापी आर्थिक र भूराजनीतिक अवस्थाले नेपालमा सुनचाँदीको मूल्यलाई प्रभावित गर्ने गर्छ।
