अध्यक्ष हटाउने खेलप्रति ओलीको चेतावनी— अब क्षमा हुँदैन
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा नेतृत्व हटाउने गतिविधि अब स्वीकार्य नहुने बताएका छन्।
मंगलबार विभिन्न प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब पार्टी नीति र अनुशासनविपरीत जानेमाथि कारबाही हुने चेतावनी दिए।
पार्टीभित्र अराजकता र अनुशासनहीनता बढ्न नदिइने उल्लेख गर्दै उनले आगामी निर्वाचनको तयारीमा केन्द्रित हुन नेता–कार्यकर्तालाई निर्देशन दिए। निष्क्रिय जनसंगठनलाई पुनर्गठन गर्दै पार्टीलाई निर्वाचनका लागि सक्रिय बनाइने पनि ओलीले बताए।
कार्यक्रममा एमालेका उपाध्यक्ष, महासचिव, सचिवलगायत शीर्ष नेताहरूको सहभागिता थियो।
