मकवानपुरमा जमिन चिरिएपछि १५ परिवार विस्थापित, ८० घर जोखिममा 

हेटौंडा : लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६ स्थित मोरङेधाप र ठूलो ज्यामिरे क्षेत्रमा जमिन चिरिने र भासिने क्रम देखिएपछि १५ परिवार विस्थापित भएका छन्। प्रभावित बस्तीका करिब ८० घर उच्च जोखिममा परेका छन्।

असोज ९ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि विभिन्न स्थानमा जमिनमा ठूला चिरा देखिन थालेका हुन्। करिब दुई वर्ग किलोमिटर क्षेत्रमा जमिन चिरिएको तथा केही स्थानमा भासिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

घरको भुइँमै चिरा परेपछि विस्थापित परिवारले स्थानीय शंखेश्वरी आधारभूत विद्यालयमा आश्रय लिएका छन्। उनीहरू दिनको समयमा घरतर्फ जाने र राति सुरक्षाका लागि विद्यालयमा बस्ने गरेका छन्।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन्। बकैया गाउँपालिकाले पनि जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने जनाएको छ।

चुरे क्षेत्रमा पर्ने उक्त बस्तीमा यसअघि पनि जमिन चिरिने समस्या देखिएको थियो। विज्ञका अनुसार लगातारको वर्षाका बेला चुरे क्षेत्र पहिरो, भूक्षय र जमिन भासिने जोखिममा रहने भएकाले प्रभावित बस्तीको दीर्घकालीन सुरक्षाका लागि सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक देखिएको छ।

सांकेतिक तस्बिर: Gaurav Dhwaj Khadka / Wikimedia Commons — CC BY-SA 4.0