नक्कली भारतीय रुपैयाँ बोकेर हिँड्दा झापामा दुई जना पक्राउ 

झापा : झापाको दमकमा एउटै नम्बर दोहोरिएका भारतीय पाँच सयका नोटले नक्कली नोटको रहस्य खोलेको छ। प्रहरीले ३५ हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुधबार साँझ दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा प्रहरीले भारतीय नम्बर प्लेट बीआर ३७ जे २७०८ को मोटरसाइकल रोकेर जाँच गरेको थियो। त्यसक्रममा भारतको किशनगञ्ज जिल्ला खनियाबाद–३ फतेपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमको साथबाट पाँच सय दरका ७० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ।

बरामद नोटमा अधिकांश सिरियल नम्बर दोहोरिएको देखिएपछि प्रहरीको शंका बढेको थियो। त्यसपछि नोट परीक्षणका लागि नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय पठाइएकोमा सबै नोट नक्कली रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर खोटा चलन (नक्कली नोट) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। झापा जिल्ला अदालत भद्रपुरबाट पाँच दिनको म्याद थप गरी नोटको स्रोत तथा कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।