विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री शाहको भेटघाट, शीतल निवासमा बढ्यो कूटनीतिक चहलपहल
काठमाडौँ : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह र विदेशी कूटनीतिक प्रतिनिधिबीचको भेटघाटले ध्यान खिचेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित राजनीतिक नेतृत्व र विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो।
समारोहका क्रममा प्रधानमन्त्री शाहले विदेशी नियोगका प्रतिनिधिसँग हात मिलाउँदै शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर कुराकानीसमेत गरेका थिए। औपचारिक भेटघाट चलिरहँदा उनीसँग संवाद गर्न विभिन्न कूटनीतिक प्रतिनिधि सक्रिय देखिएका थिए।
प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसहित अन्य उच्चपदस्थ पदाधिकारीसँग पनि संविधान दिवसको शुभकामना आदानप्रदान गरेका थिए। शीतल निवासको समारोह औपचारिक उत्सवसँगै राजनीतिक तथा कूटनीतिक भेटघाटको थलोसमेत बनेको देखियो।
