त्रिशूली बाढीको भयावह दृश्य : माथिल्लो त्रिशूली–१ को सुरुङमा १८ शव फेला, निकाल्ने प्रयास जारी
रसुवा : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोजीका क्रममा १८ वटा शव फेला परेका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा शुक्रबार शवहरू देखिएका हुन्।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सुरुमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ शव भेटिएका थिए। थप खोजी गर्दा अन्य १२ शव देखिएको र ती शव बाहिर निकाल्ने प्रयास भइरहेको छ।
आयोजनाको सुरुङबाट यसअघि विभिन्न मितिमा १५ शव निकालिएको बताइएको छ। ती शवको सनाखत हुन बाँकी छ।
माथिल्लो त्रिशूली–१ को सुरुङमा कम्तीमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अझै जारी छ।
