अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै, दिल्लीमा उच्चस्तरीय भेटवार्ताको व्यस्त तालिका 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्।

अर्थमन्त्री वाग्लेको दिल्ली बसाइ उच्चस्तरीय भेटवार्तादेखि कूटनीतिक संवाद, उद्योगी–व्यवसायीसँगको सम्मेलन र विकास अर्थनीतिमाथिको प्राज्ञिक बहससम्म केन्द्रित हुने भएको छ। अर्थ मन्त्रालयका अनुसार दुई देशबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न आयाममा संवाद गर्नु भ्रमणको मुख्य उद्देश्य हो।

पहिलो दिन सीतारमणसँग भेट

नयाँ दिल्ली पुगेकै दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। दुई अर्थमन्त्रीबीच हुने भेटमा नेपाल–भारत आर्थिक सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भ्रमणको दोस्रो दिन शुक्रबार वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। आर्थिक मामिलासँगै राजनीतिक तथा कूटनीतिक विषयसमेत भ्रमणको एजेन्डामा रहेकाले जयशंकरसँगको भेटलाई महत्त्वका साथ हेरिएको छ।

कूटनीतिज्ञदेखि व्यापारिक क्षेत्रसम्म संवाद

शुक्रबार नै अर्थमन्त्री वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यसपछि उनी भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। यससँगै उनको भ्रमण सरकारी तहको वार्तामा मात्र सीमित नभई भारतको कूटनीतिक तथा व्यापारिक क्षेत्रसँगको संवादमा समेत विस्तार हुनेछ।

प्रतिष्ठित भारतीय उद्योगीसँग अर्थमन्त्रीको छलफल

भ्रमणको अन्तिम दिन शनिबार बिहान वाग्ले भारतीय उद्योग परिसंघले आयोजना गर्ने सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। सम्मेलनमा भारतका प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिहरूसँग उनको प्रत्यक्ष संवाद हुनेछ।

नेपाल र भारतबीचको आर्थिक सम्बन्धमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको अवस्थामा भारतीय उद्योगीहरूसँग हुने यो संवाद भ्रमणको अर्को प्रमुख कार्यक्रम बनेको छ।

दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिमाथि बहस

राजनीतिक र व्यावसायिक भेटघाटपछि अर्थमन्त्री वाग्ले प्राज्ञिक मञ्चमा पनि प्रस्तुत हुनेछन्। शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

अर्थशास्त्रीसमेत रहेका वाग्लेको तीन दिने भ्रमणमा सरकार–सरकारबीचको वार्ता, कूटनीतिक संवाद, निजी क्षेत्रसँगको छलफल र प्राज्ञिक बहस गरी चार फरक क्षेत्र समेटिएका छन्।

व्यस्त तीन दिने दिल्ली भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ