अधिकारको आवाज, पर्यटकीय पुनरुत्थान र मानवीय संवेदना: डलासबाट संयुक्त राष्ट्रसङ्घसम्म भिजिट नेपालको विश्वव्यापी अभियान
डलास, अमेरिका — जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालका लागि विश्वमञ्चबाटै ‘जलवायु न्याय’ (Climate Justice) को बुलन्द आवाज उठाउन अमेरिकामा एउटा फरक र उद्देश्यमूलक अभियानको सुरुआत गरिँदै छ। हालै नेपालमा आएको बाढी-पहिरोका कारण ज्यान गुमाएका निर्दोष नेपाली नागरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको चिरशान्तिको कामना गर्दै भिजिट नेपाल (Visit Nepal) को आयोजनामा अमेरिकाको डलासमा विशेष “श्रद्धाञ्जली तथा दीप प्रज्वलन” कार्यक्रम हुने भएको छ।
उक्त कार्यक्रम आगामी शनिबार, सेप्टेम्बर १२, २०२६ का दिन साँझ ७:०० बजेदेखि ८:०० बजेसम्म डलासस्थित रोनाल्ड किर्क पेडेस्ट्रियन ब्रिज (Ronald Kirk Pedestrian Bridge) मा आयोजना गरिनेछ।
यो श्रद्धाञ्जली सभा केवल शोक व्यक्त गर्ने कार्यक्रममा मात्र सीमित रहने छैन। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा पनि कम योगदान गर्दापनि वैश्विक प्रदूषणका कारण बर्सेनि ठूलो धनजनको क्षति भोग्नुपरेको छ। त्यसैले, संयुक्त राष्ट्रसङ्घको महासभा (UNGA) मा भाग लिन नेपालका प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क आउने अवसर पारेर भिजिट नेपालले संयुक्त राष्ट्रसङ्घ (UN) मुख्यालय अगाडि पनि सशक्त प्रदर्शन तथा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
यस अभियानका मुख्य एजेन्डाहरूबारे बोल्दै भिजिट नेपालका अध्यक्ष राजीव राजभाटले जलवायु न्यायको मुद्दामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “नेपालले भोगिरहेको यो ठूलो क्षति अरूले गरेको प्रदूषणको परिणाम हो। त्यसैले हामी कुनै दया वा ऋण होइन, आफ्नै हकका रूपमा ‘हानि र नोक्सानी क्षतिपूर्ति’ (Loss and Damage Reparations) कोष सोझै उपलब्ध गराइनुपर्छ भन्ने स्पष्ट माग संयुक्त राष्ट्रसङ्घसमक्ष राख्दै छौँ।”
संस्थाले केवल आवाज मात्र नउठाई व्यावहारिक सहयोगमा अघि बढ्दै नेपालको पुनर्निर्माणका लागि ३ करोड रूपैयाँको कोष घोषणा गरिसकेको छ भने अध्यक्ष राजीव राजभाटले व्यक्तिगत रूपमा ३० लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसक्नुभएको छ।
अर्कोतर्फ, नेपालको आर्थिक पुनरुत्थान र पर्यटन प्रवर्द्धनबारे प्रकाश पार्दै भिजिट नेपालका सदस्य किरण गिरीले धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नेपाल भ्रमणको निम्तो दिनुभयो।
सदस्य गिरीले भन्नुभयो, “प्राकृतिक विपद्का बाबजुद नेपालका हजारौँ गन्तव्यहरू आज पनि पूर्ण रूपमा सुरक्षित, खुला र पर्यटकहरूलाई स्वागत गर्न आतुर छन्। अहिलेको परिस्थितिमा एकजना मात्र पर्यटक नेपाल पुग्दा पनि उहाँ विमानस्थलमा उत्रिएकै क्षणदेखि प्रयोग गर्ने हरेक सेवा-सुविधाले कम्तीमा एक नेपालीको आर्थिक स्थिति मजबुत बनाउन मद्दत पुर्याउँछ। होटेल, रेस्टुरेन्ट, गाइड, भरिया र यातायात सबै क्षेत्रको जीविकोपार्जनमा यसले सीधा योगदान पुर्याउने भएकाले सबैले नेपाल भ्रमणको सन्देश फैलाउन आवश्यक छ।”
डलास तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, मिडियाकर्मी र जलवायु अधिकारकर्मीहरूलाई दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन आयोजक भिजिट नेपालले हार्दिक अनुरोध गरेको छ।
