सडक नपुगे अब आकाशबाट राहत : सशस्त्र प्रहरीलाई अमेरिकाको अत्याधुनिक कार्गो ड्रोन सहयोग
काठमाडौं — बाढी प्रभावित दुर्गम क्षेत्रमा अत्यावश्यक राहत सामग्री छिटो पुर्याउन अमेरिकाले सशस्त्र प्रहरी बल नेपाललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ।
अमेरिकामा निर्मित ‘Freefly Alta X Gen2’ कार्गो ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरेका हुन्।
सडक अवरुद्ध भएका तथा अन्य साधनबाट सहजै पुग्न नसकिने बाढी प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री ढुवानी गर्न उक्त ड्रोन प्रयोग गरिने सशस्त्र प्रहरीले जनाएको छ।
विपद्का कारण स्थलमार्गबाट सम्पर्क टुटेका क्षेत्रमा कार्गो ड्रोनको प्रयोगले राहत पुर्याउने समय घटाउनुका साथै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
