संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने
काठमाडौं — प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महा सभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको सम्भावित भ्रमणलाई लिएर आवश्यक तयारी अघि बढाइएको छ।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि न्यूयोर्क जाने तयारीमा छन्। यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई महासभामा सहभागी गराउने स्वीकृति दिएको थियो। प्रधानमन्त्री शाहको भ्रमणबारे भने औपचारिक निर्णय हुन बाँकी रहेको बताइएको छ।
पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो मानवीय तथा भौतिक क्षतिपछि प्रधानमन्त्री स्वयं महासभामा उपस्थित भएर नेपालको अवस्था विश्व समुदाय समक्ष राख्नुपर्ने आवाज बढेको छ।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्, हिमाली क्षेत्रमा बढ्दो जोखिम र जलवायु न्यायको मुद्दा महासभामा उठाउनु पर्ने माग भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले समेत महासभामा नेपालले उठाउने विषयबारे चासो देखाएको परराष्ट्र स्रोतले जनाएको छ।
भ्रमणले औपचारिक स्वीकृति पाए प्रधानमन्त्री शाहका लागि यो महासभा भोटेकोशीको विपद् मात्रै होइन, जलवायु संकटबाट नेपालले व्यहोरेको क्षति र न्यायको माग विश्वमञ्चमा राख्ने महत्वपूर्ण अवसर बन्न सक्नेछ।
