रोहित पौडेलसहित तीन क्रिकेटरलाई आईसीसीको कारबाही
एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले नेपालका रोहित पौडेल तथा यूएईका अदीब उस्मानी र खुजैमा तनवीरमाथि कारबाही गरेको छ।
नेपालको इनिङ्सको ३१औँ ओभरमा रोहित र उस्मानीबीच मैदानमा विवाद भएको थियो। अम्पायरले स्थिति नियन्त्रणमा लिन दिएको निर्देशन पालना नगरेको भन्दै दुवैलाई लेभल–१ उल्लंघनमा म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो।
त्यस्तै, यूएईका खुजैमा तनवीरलाई आउट भएपछि ब्याटले स्टम्पमा प्रहार गरेको घटनामा म्याच फीको १० प्रतिशत जरिवाना गरिएको छ। तीनै खेलाडीको अनुशासन अभिलेखमा एक–एक डिमेरिट अंक थपिएको छ।
तीनै खेलाडीले आरोप स्वीकार गरेकाले यस विषयमा छुट्टै औपचारिक सुनुवाइ आवश्यक नपरेको जनाइएको छ।
