प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउँदै गर्दा न्युयोर्कमा ‘Climate Justice for Nepal’ मौन प्रदर्शन हुने
न्युयोर्क, अमेरिका — नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरिरहेका बेला अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको गैरनाफामूलक संस्था Visit Nepal ले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि ‘Climate Justice for Nepal’ शीर्षकमा शान्तिपूर्ण मौन प्रदर्शन आयोजना गर्ने भएको छ।
सेप्टेम्बर २४ मा हुने उक्त प्रदर्शन दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। सोही दिन प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेकाले राष्ट्रसंघभित्र नेपालले उठाउने जलवायु न्यायसम्बन्धी विषयप्रति बाहिरबाट नागरिकस्तरमा ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको Visit Nepal ले जनाएको छ।
प्रधानमन्त्री शाहको राष्ट्रसंघ सहभागितासँगै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असमान प्रभाव, जलवायु न्याय, जलवायु वित्त तथा जलवायुजन्य क्षतिपछिको पुनर्निर्माण र उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयले विशेष महत्त्व पाएका छन्।
नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। हिमाली क्षेत्रमा देखिएको तीव्र परिवर्तन, हिमनदी पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, बाढी, पहिरो, खडेरी, डढेलो तथा अन्य चरम मौसमी घटनाले जनजीवन, पूर्वाधार, कृषि, पर्यटन र जीविकोपार्जनमा गम्भीर प्रभाव पार्दै आएका छन्।
यही पृष्ठभूमिमा नेपालजस्ता जलवायु संकट सिर्जना गर्न न्यून भूमिका भएका तर त्यसको ठूलो असर भोगिरहेका मुलुकका लागि न्यायोचित अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको विषयलाई न्युयोर्कको प्रदर्शनले केन्द्रमा राख्ने आयोजकले जनाएको छ।
प्रदर्शनमा Climate Justice, Climate Finance र Loss and Damage का विषयलाई प्रमुख रूपमा उठाइनेछ। जलवायु परिवर्तनका कारण हुने आर्थिक तथा गैरआर्थिक क्षति सामना गर्न जोखिममा रहेका विकासशील मुलुकका लागि स्थापना गरिएको Fund for Responding to Loss and Damage (FRLD) लगायतका अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा प्रभावित मुलुकहरूको न्यायोचित र सहज पहुँचको विषयमा समेत ऐक्यबद्धता जनाइने आयोजकको भनाइ छ।
Visit Nepal का अनुसार प्रदर्शन कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा केन्द्रित नभई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जलवायु न्यायसम्बन्धी मुद्दाप्रति नागरिकस्तरबाट ऐक्यबद्धता जनाउने शान्तिपूर्ण अभियानका रूपमा आयोजना गरिएको हो।
कार्यक्रममा न्युयोर्क तथा आसपासमा रहेका नेपाली समुदाय, नेपाली संघ–संस्था, युवा, विद्यार्थी, पेशाकर्मी, सामाजिक अभियन्ता तथा जलवायु र वातावरणका क्षेत्रमा चासो राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले न्याय पाउनुपर्ने धारणा राख्ने गैरनेपाली तथा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी गराउने आयोजकको योजना छ।
सहभागीहरू जलवायु न्यायसम्बन्धी विभिन्न सन्देशसहित संयुक्त राष्ट्रसंघ मुख्यालय अगाडि शान्तिपूर्ण रूपमा मौन उभिनेछन्। “Climate Justice Has No Borders”, “Protect the Himalayas, Protect Our Shared Future” र “Stand With Climate-Vulnerable Nations” लगायतका सन्देश प्रदर्शनमा समेटिने आयोजकले जनाएको छ।
Visit Nepal का अध्यक्ष राजिब राजभाटका अनुसार न्युयोर्कको कार्यक्रमलाई संस्थाले जलवायु न्यायसम्बन्धी दीर्घकालीन अभियानको एउटा हिस्साका रूपमा लिएको छ। आगामी दिनमा नेपालमा जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई सहयोग गर्ने, पुनर्निर्माण तथा जलवायु उत्थानशीलतासँग सम्बन्धित विभिन्न पैरवी, जनचेतनामूलक अभियान र कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।
नेपालका हिमाल र हिमनदीमा देखिएको परिवर्तनलाई नेपालको मात्र नभई क्षेत्रीय तथा विश्वव्यापी चासोको विषयका रूपमा हेर्नुपर्ने Visit Nepal को धारणा छ। हिमालय क्षेत्रको पर्यावरणीय परिवर्तन जलस्रोत, जैविक विविधता, स्थानीय समुदाय र दीर्घकालीन जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएकाले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान र सहकार्य आवश्यक रहेको संस्थाले जनाएको छ।
राष्ट्रसंघको महासभामा नेपालले जलवायु न्यायसम्बन्धी आफ्नो धारणा प्रस्तुत गर्ने समयमै मुख्यालय बाहिर हुन लागेको मौन प्रदर्शनमार्फत नेपालको जलवायु मुद्दालाई नागरिकस्तरबाट समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने प्रयास गरिएको आयोजकले जनाएको छ।
