पोखरामा फ्लाई दुबईको स्वागत तयारी रोकियो, दुबईका शासकका भाइको निधन 

दुबई/पोखरा : दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमका भाइ शेख अहमद बिन राशिद अल मकतुमको निधन भएपछि दुबई शोकमा डुबेको छ। उनको निधनलाई सम्मान गर्दै पोखरामा तय गरिएको फ्लाई दुबईको पहिलो उडानको औपचारिक स्वागत समारोहसमेत स्थगित गरिएको छ।

दुबईको शासकीय दरबारले सोमबार शेख अहमदको निधन भएको पुष्टि गर्दै १० दिनको आधिकारिक शोक घोषणा गरेको छ। यस अवधिमा दुबईमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

शेख अहमद अल मकतुम परिवारका वरिष्ठ सदस्य थिए। उनको निधनपछि यूएईको राष्ट्रपति कार्यालयसहित विभिन्न अमिरातका शासकीय निकायले शेख मोहम्मद बिन राशिद अल मकतुम र अल मकतुम परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

यसैबीच, दुबईमा घोषित शोकका कारण पोखरामा बुधबार आयोजना गर्ने भनिएको फ्लाई दुबईको पहिलो उडानको औपचारिक स्वागत समारोह स्थगित गरिएको छ।

तर स्वागत समारोह स्थगित भए पनि दुबई–पोखरा सीधा उडान भने निर्धारित कार्यक्रमअनुसार सेप्टेम्बर २३ बाट सुरु हुने छ। फ्लाई दुबईका अनुसार पोखरा उसको नेपालमा काठमाडौं पछिको दोस्रो गन्तव्य हो र यो यूएईबाट पोखरामा सीधा सेवा सञ्चालन गर्ने पहिलो एयरलाइन हुनेछ।

पहिलो उडान बुधबार साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ भने सोही विमान साँझ ७:१५ बजे दुबईका लागि फर्किने तय छ।

यससँगै पोखराले दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क पाउँदैछ। नयाँ रुटले पर्यटन, वैदेशिक यात्रा तथा व्यापारिक आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ