दसैँअघि यात्रुलाई राहत दिने तयारी, गल्छी–स्याफ्रुबेँसी सडक खुलाइँदै

काठमाडौं : रसुवा बाढीले क्षतिग्रस्त बनाएको गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत तथा पुनर्निर्माणको काम तीव्र पारिएको छ।

सडक विभागका अनुसार अधिकांश स्थानमा सडक खुलिसकेको छ। कोल्पुखोलामा अस्थायी मर्मतपछि यातायात सञ्चालन भएको छ भने रातोमाटेमा बाढीले बगाएको करिब २०० मिटर सडकमा नयाँ ट्रयाक बनाएर सवारी चलाइएको छ। देवीघाटमा नेपाली सेनाले बेलीब्रिज जडान गरेपछि गल्छीदेखि विदुरसम्मको आवागमनसमेत खुलेको छ।

विदुर–बेत्रावती खण्डको करिब ३०० मिटर क्षेत्रमा पहिरो हटाउन नेपाली सेनाले ब्लास्टिङसहित ट्रयाक खोल्ने काम गरिरहेको छ। अब बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान भएपछि गल्छीदेखि स्याफ्रुबेँसीसम्म सवारी सञ्चालन गर्न सकिने विभागले जनाएको छ।

बेत्रावतीमा ७२ मिटर र स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी छ। विभागले दसैँसम्म सडक सञ्चालनमा ल्याएर यात्रुलाई सहज बनाउने लक्ष्य राखेको जनाएको छ।

यता स्याफ्रुबेँसी–रसुवागढीको करिब १५ किलोमिटर सडक भने बाढीबाट गम्भीर रूपमा प्रभावित भएकाले पुनर्निर्माणका लागि सर्भेक्षण सुरु गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ