नेपाल ‘ए’ १२१ रनमै समेटियो, साउथ अस्ट्रेलियासँग १३८ रनको हार!
काठमाडौं — अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको छ। २६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २२.१ ओभरमै १२१ रनमा अलआउट भयो।
नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए भने मयन यादवले २० र दीपक डुम्रेले १८ रन जोडे। यसअघि साउथ अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। उसका डोउट्जी हुगेनबोजेमले १११ रनको शतकीय इनिङ्स खेले। राशिदले बलिङतर्फ पनि नेपालका लागि २ विकेट लिए।
नेपाल ‘ए’को यो एकदिवसीय चरणमा लगातार दोस्रो हार हो। अब नेपालले आइतबार न्युजिल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्नेछ।
