विकासको बाटो रोक्न एमालेलाई निशाना बनाइयो’ : ओली 

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बदलिँदो राजनीतिक परिस्थिति र सूचना प्रविधिको तीव्र विकाससँगै पार्टीले पनि आफ्नो कार्यशैलीलाई समयअनुकूल बनाउँदै लैजानुपर्ने बताएका छन्।

शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथ गराउँदै ओलीले अहिलेको समयलाई ‘आईटी वार’को युगका रूपमा व्याख्या गरे। नेता तथा कार्यकर्ताले आधुनिक प्रविधि र समसामयिक परिवेश बुझेर पार्टी गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।

ओलीले मुलुकको विकास र समृद्धिको लक्ष्य लिएर अघि बढेको एमालेलाई रोक्ने प्रयास भइरहेको दाबीसमेत गरे। राजनीतिक यात्रामा कहिलेकाहीँ धक्का लागे पनि संगठनलाई बलियो बनाएर अघि बढे पार्टी अझ सशक्त भएर फर्किन सक्ने उनले बताए।

सानातिना विषयमा अल्झिनुभन्दा फराकिलो सोचका साथ एकताबद्ध भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले वर्तमान परिस्थितिलाई पार गरेर पार्टीलाई पहिलाभन्दा बलियो बनाउन सकिने विश्वास व्यक्त गरे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ