जुफालमा सीता एयरको जहाज अवतरण गर्दा पाङ्ग्रा छुट्यो, यात्रु सुरक्षित

डोल्पा — नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रा छुटेको छ। 9N-AJH कलसाइनको जहाज धावनमार्गमा अवतरण गरेलगत्तै दायाँतर्फको पछाडिको पाङ्ग्रामा समस्या आएको थियो।

जहाजमा सात विदेशी र छ नेपाली गरी १३ यात्रु सवार थिए। घटनाका बाबजुद यात्रु तथा चालक दल सुरक्षित रहेको र मानवीय क्षति नभएको जनाइएको छ।

पाङ्ग्रा छुटेपछि जहाज धावनमार्गमै रोकिँदा विमानस्थलको नियमित उडान केही समय प्रभावित भएको थियो। जहाजको प्राविधिक परीक्षण तथा आवश्यक मर्मतपछि मात्रै थप उडानबारे निर्णय गरिने बताइएको छ।

फाइल तस्बिर: Gerrit Griem / Planespotters.net