उर्लियो नारायणी, बाढीले बगायो पानी जहाज 

काठमाडौँ — नारायणी नदीमा आएको तीव्र बहावले पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको एक पानी जहाज (क्रुज) बगाएको छ। बाढीले बगाएको क्रुज केही दूरी पार गरेपछि नारायणी नदीको पुलमा पुगेर अड्किएको छ।

गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित होटल रिभर क्राउनको क्रुज आइतबार साँझ करिब ५ः४० बजे नदीको तीव्र बहावसँगै बगेको हो। बग्दै गएको क्रुज पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको जनाइएको छ।

क्रुज पुलमा अड्किएपछि थप क्षति तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म, पूर्वी नवलपरासी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनमा जुटेको डीएसपी शैलेन्द्र थापाले बताएका छन्।

नदीको बहाव तीव्र रहेकाले अड्किएको क्रुजको सुरक्षित व्यवस्थापन र आसपासको क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको छ।